एमाले जिल्ला अधिवेशन: सुर्खेतमा पाँच जना अकांक्षी, सहमतीमा नेतृत्व छान्ने सचिवालयको निर्णय


जागरण संवाददाता
सुर्खेत, २० पुस ।
नेकपा एमाले सुर्खेतको अध्यक्षमा पाँच जना आकांक्षी देखिएका छन् ।
एमाले सुर्खेतको सोमबार बसेको सचिवालय बैठकमा जिल्ला कमिटि भित्रका पाँच जनाले अध्यक्षमा आकांक्षा व्यक्त गरेका हुन् । प्रदेश कमिटि सदस्य कुलमणि देवकोटा, वर्तमान जिल्ला कमिटिका उपाध्यक्ष अमृत विसी, जिल्ला कमिटि सदस्यहरु डण्डी प्रसाद शर्मा, हरिहरनाथ योगी र ऐन बहादुर चन्दले अध्यक्षतामा दाबि गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । सचिवालय बैठकले भने सर्वसहमतीमा नेतृत्व चयन गर्न प्रस्ताव जिल्ला कमिटि बैठकमा लैजाने निर्णय गरेको छ । ‘सचिवाय बैठकमा साथीहरुले नेतृत्वमा आकांक्षा प्रस्तुत गर्नु भएको छ तर सर्वसहमतिमा नेतृत्व छान्ने प्रस्ताव जिल्ला कमिटि बैठकमा लैजाने निर्णय भएको छ’ जिल्ला कमिटि अध्यक्ष ध्रुबकुमार शाहीले भने,‘जिल्ला कमिटिको बैठक पुस २२ गते बोलाएका छौँ ।’ अध्यक्ष शाहीका अनुसार सोमबारको सचिवालय बैठकमा नेतृत्वका लागि आंकाक्षा प्रस्तुत गर्न दिइएको थियो । सकेसम्म सहमतीमै नेतृत्व चयन गर्नका लागि प्रयास हुने अध्यक्ष शाहीको भनाइ छ ।
बैठकमा पाँच जनाले आकांक्षा देखाएपनि बाहिर भने देवकोटा, विसी र शर्माको चर्चा चलेको छ । अन्य पार्टीसंग प्रतिस्पर्धा गर्नसक्ने एवं पार्टीलाई मजवुत बनाउनका लागि आफूले नेतृत्व लिने चाहेको टेवकोटाले बताए । अहिले सुर्खेतको एमालेलाई एकताबद्ध गर्न नयाँ नेतृत्वको आवश्यकता रहेको र त्यसका लागि आफू नै उपयुक्त पात्र रहेको विसीको भनाई छ । वर्तमान कमिटिमा उपाध्यक्ष भएकाले पनि अध्यक्षमा दाबि स्वभाविक हुने उनले दाबि गरे । यता शर्मा भने कार्यकर्ताको भवनालाई समेट्नसक्ने उपयुक्त पात्र आफू भएको दाबि गर्छन् ।
आकांक्षी धेरैभएप्छि एमाले सुर्खेतमा सहमतीमा नेतृत्व चयन गर्न सकस हुने देखिएको छ । नेताहरु भने सहमतीमै नेतृत्व चयन हुने बताउँदै आएका छन् । प्रदेश राजधानी र एमालेको प्रदेश इन्चार्ज यामलाल कंडेलको गृह जिल्ला समेत भएकाले सुर्खेतमा सहमतीमै नेतृत्व चयन गरेर प्रदेशभर सन्देश दिने योजनामा नेताहरु देखिन्छन् ।